Saturday, July 1, 2017

म शान्ति

              म शान्ति 
धेरै सङ्घर्षहरुको परिणाम
हजारौँ सहिदहरुको बलिदान
र अनेकौँ तन्त्रहरुको विकास स्वरुप
मलाई ल्याउने प्रयास गरियो।
दस दशकको राणाकाल,
त्यसपछिको पञ्चायत कालसँगै
प्रजातन्त्र भनाउँदो तन्त्रको विकास
अनि एक मुखको बदला हजारौँ मुखको विकास गरियो,
अझै भएन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक
सिर्फ नाम नयाँ, नेता उही, कर्मचारी उही प्रणाली पनि उही
धन्न अझै मेरो नाम फेरेका छैनन्
म उही नामले फलाकिन्छु।
सग्लो सहरलाई थर्काउँदै नेता बोल्छन्, शान्ति आउँछ।

मेरो नाममा धेरैले राजनीति गरेका छन्
हरेक पटक मेरै नाम बेचिएको छ
मेरो अस्मितामाथि खेलबाड भएको छ
मलाई कुरुप र नादान बनाइएको छ
परिणाम, म कुल्चिएकी छु, पटक पटक ढलेकी छु
गर्भावस्थामै तुहाइएकी छ
करोडौँ दिलको सपना मात्र बनाइएकी छु।

मेचिबाट काली पुग्ने मेरो रहर
सेता पर्वतका टाकुरामा दन्तलहर फिँजाई हाँस्ने मेरो रहर
कोसी, गण्डकी र कर्णालीसँगै बग्ने मेरो चाहना
तराईको धानसँगै झुल्ने अनि
जुम्ला र मुस्ताङको स्याउसँगै पिरती गाँस्ने मेरा सपना
हरेक जाडामा इलामको चिया र गुल्मीको कफिसँगै
प्रत्येक नेपालीको मनमा छाउने रहर
अब रहरमै सीमित हुँदै छन्।

विद्यार्थी मलाई किताबमा पढ्दछ
युवा मेरो नाममा टायर बाल्दछ
नेता मेरै नाममा डलर खेती गर्दै छ
उद्योगपति कर छल्दै छ
निजामती घुसमा बिक्दै छ
र पनि
विद्यार्थी कहिल्यै भन्दैन, खोई शान्ति
युवा चक्काजाम र राँके जुलुसबिच मलाई खोज्दै छ
नेतालाई म चाहिएकै छैन।

फेरि पनि,
जनता मेरै आशमा छन्
किसान शान्तपुर्वक खेत जोत्न चाहन्छ
वकिल बिना हस्तक्षेप वकालत गर्न चाहन्छ
न्यायधिश पीडक हैन पीडितको पक्षमा बोल्न चाहन्छ
शिक्षक बिना रोकटोक स्वतन्त्र अध्यापन गर्न चाहन्छ
आमा आफ्नो बालकलाई ढुक्क र सकुशल विद्यालय र घर गराउन चाहन्छिन्।
अनि यस्तै यस्तै अरू धेरै आकाङ्क्षाहरू अब अङ्कुरण हुन सकून्
स्वच्छ र स्वस्थ वातावरणमा फुल्न र फल्न सकून्
बालक,युवा, वयस्क र वृद्धाले
मलाई अनुभव गर्न सकून्।

प्रत्येक नेताले उत्तरदायित्व बहन गरोस्
टायर बाल्ने सडकमा सवारी र छेउमा फुलबारी होस्
स्कुल र क्याम्पसमा कार्यकर्ता होइन, विद्यार्थी होउन्
देश नेपाल र जाति नेपाली होस्।
अनि बल्ल म आउने छु कुनाकुनामा छाउने छु
बालकले किताबमा सिमित हुनुपर्ने छैन
जनताले त्रासमा जिउनुपर्ने छैन
मानिस दलित, जनजाती, आदिवासी र आर्यको सट्टा नेपाली हुने छ।
परिणामत: सुन्दर, शान्त, विशाल नेपाल हुने छ।।

No comments:

Post a Comment

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...